Prayas Loading...
071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास सहकारीद्वारा ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा एकदिवसीय साइबर अपराध, बैंकिङ कसुर, सम्पत्ति शुद्धिकरण तथा वित्तीय सक्षमता सम्बन्धी तालिम सम्पन्न

प्रयास सहकारीद्वारा ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा एकदिवसीय साइबर अपराध, बैंकिङ कसुर, सम्पत्ति शुद्धिकरण तथा वित्तीय सक्षमता सम्बन्धी तालिम सम्पन्न

२०८२ चेत्र १४, तामनगर ।

“उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा यस प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साइबर अपराध, बैंकिङ कसुर, सम्पत्ति शुद्धिकरण तथा वित्तीय सक्षमता सम्बन्धी एकदिवसीय तालिम सम्पन्न गरेको छ। शनिबार सरस्वती माध्यमिक विद्यालय तामनगरको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भीम बहादुर थापाले गर्नुभएको थियो भने प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष डिल्ली प्रसाद शर्मा रहनुभएको थियो। तालिममा संस्थाका ७५ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो। सहकारीमार्फत सदस्यहरूको वित्तीय साक्षरता अभिवृद्धि गर्ने, डिजिटल युगमा बढ्दो साइबर जोखिमबारे सचेतना फैलाउने तथा बैंकिङ कसुर र सम्पत्ति शुद्धिकरणजस्ता विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियाे ।

पहिलो सत्रमा संस्थाका उपाध्यक्ष प्रकाशमणि खनालले साइबर अपराध तथा बैंकिङ कसुरसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी दोस्रो सत्रमा संस्थाका व्यवस्थापक प्रदिप पौडेलले सम्पत्ति शुद्धिकरण तथा वित्तीय सक्षमतासम्बन्धी प्रशिक्षण प्रदान गर्नुभयो। प्रशिक्षणका क्रममा सुरक्षित बैंकिङ कारोबार, डिजिटल माध्यमको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनका विषयमा विस्तृत जानकारी दिइएको थियो। कार्यक्रममा सहकारीका सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव तीर्थराज काफ्ले र कोषाध्यक्ष सिता कँडेल तरामुले गर्नुभएको थियो भने सहजीकरण ऋण अधिकृत शेषदत्त थारु र बजार प्रतिनिधि निर्मला पौडेलले गर्नुभएको थियो। सहभागीहरूले तालिमलाई समयसापेक्ष र उपयोगी भएको प्रतिक्रिया दिएका थिए ।

प्रयास सहकारीले विगतदेखि नै वित्तीय साक्षरता, रक्तदान लगायत सामाजिक तथा सदस्यकेन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै आर्थिक वर्षमा संस्थाले आफ्नै भवन निर्माण सम्पन्न गरी छिट्टै नयाँ भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

Scroll to Top